बुढीगण्डकी निर्माण गर्ने जिम्मा विद्युत प्राधिकरणलाई किन दिइयो? : सांसद बजगाईँ - Chaitanya News
  • 2026-07-04
  • 01:54:29
  • शुक्रबार,आषाढ १९, २०८३
  • बुढीगण्डकी निर्माण गर्ने जिम्मा विद्युत प्राधिकरणलाई किन दिइयो? : सांसद बजगाईँ

    काठमाडौँ– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजनाबाट गरिएको रकमान्तर फिर्ता हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजनाको १ अर्ब ४० करोड बजेट नारायणी तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई लगिएकोमा आपत्ति जनाए।

    ‘अहिले विद्युत प्राधिकरणले बुढीगण्डकी निर्माण गर्ने जिम्मा पायो रे। म सरकारलाई प्रश्न गर्न चाहन्छु यसो किन गरियो? रकमान्तर गरिएको रकम फर्किन्छ कि फर्किँदैन? सांसद बजगाईँको प्रश्न छ।

    मनकामना जोड्ने सडकहरूको स्तर उन्नति र गोरखा दरबार आजसम्म पुनर्निर्माण हुन नसकेको सरकारको उनले ध्यानाकर्षण गराए।

    ‘हामीले बुढीगण्डकी परियोजना प्रभावित र समग्र गोरखा जनताको अपेक्षाप्रति गम्भीर भएनौँ। कम्तीमा भगवानलाई नढाँटौं भन्ने आग्रह हो,’ उनले भने।

    पर्यटन विकासका सम्बन्धमा सरकार गम्भीर बन्नुपर्ने सांसद बजगाईँको भनाइ छ। ‘पर्यटनका क्षेत्रका चुनौतीहरू धेरै हुँदा हुँदैन। पर्वतीय पर्यटनमा जथाभाबी ट्रयाक निर्माणले अप्ठेरो भइरहेको छ। भूधरातलको विषयमा हामी अध्ययन गरिरहेका छैनौ। जलयात्रा पर्यटन पनि जोखिममा परेको छ,’ उनले भने।

    सरकारी भवनमा कुनै एकरुपता नभएको भन्दै कला र संस्कृति नझल्किएको सांसद बजगाइले बताए। सांसद बजगाईँले प्रधानमन्त्री र मन्त्रीसँग आँखा जुधाएर प्रश्नउत्तर गर्न पाउनुपर्ने बताए।

    उनले भने, ‘हामी एक थिएटर भित्र बसे जस्तो सिनेमाहलमा जस्तो बस्न बाध्य छौँ। सरकार र मन्त्रीहरूको ढाड र शिर मात्र देख्न सक्छौँ। यस्तो लाग्छ बोलेका कूराहरू दर्ज गराउने अभिप्रायले पनि यहाँ बोलिरहन्छौँ।’

    यद्यपि मलको अनुदान कटौतीमा बोल्दा सरकारले अनुदान कटौतीको निर्णय खारेज गरेको भन्दै सरकारलाई धन्यवाद दिए।