काठमाडौँ – नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रम सत्तारुढ दश दलको मात्रै भएको बताए।
उनले एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको र एमालेको हस्ताक्षर नभएको भन्दै त्यसलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्न नमिल्ने बताए। उनले कार्यक्रममा सबैका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखिएको भन्दै सरकारको प्राथमिकताको विषय मूर्त रुपमा आउन नसकेको उल्लेख गरे।
उनले भने, ‘जुन साझा सहमति उहाँहरुले ल्याउनुभएको छ, यो त दश दलको हो। संसदमा १० दल मात्रै छन्? नेकपा(एमाले( प्रमुख प्रतिपक्षको हैसियतमा छ र उसले त्यसमा हस्ताक्षर गरेको छैन। अनि कसरी यो राष्ट्रिय सहमतिको दस्तावेज भयो?
त्यस्तै, एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले सय दिनको बीचमा दुई वटा साझा न्यूनतम कार्यक्रम जारी गर्नु रमाइलो कुरा भएको टिप्पणी गरे। साझा कार्यक्रम कार्यान्वयन गर्नका लागि नभइ सार्वजनिक खपतका लागि ल्याइएको उनको भनाइ थियो।