कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने संघीयता चाहिँदैन : सांसद शाही - Chaitanya News
  • 2026-05-22
  • 16:34:41
  • शुक्रबार,जेठ ०८, २०८३
  • कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने संघीयता चाहिँदैन : सांसद शाही

    कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने संघीयता चाहिँदैन : सांसद शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले संघीयता कार्यकर्ता भर्ती केन्द्र भएको बताएका छन्। कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउन प्रदेश संरचना तयार पारिएको उनको भनाइ छ।

    बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको दाबीसहित संघीयता नचाहिने बताएका हुन्।

    उनले भने, ‘पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो। यदि १ अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ। प्रदेश एउटा पहिचानका लागि चाहिन्छ, अर्को देश ठूलो भयो भने केन्द्रीकरण गर्न चाहिन्छ। तर आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन।’

    शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेकाले यसको जवाफ हालसम्मका प्रधानमन्त्रीले दिनुपर्ने माग गरे।