काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र गृह मन्त्रालयका प्रवक्ता मीटरब्याज पीडितलाई भेट्न भर्खर रत्नपार्क पुगेका छन्। सिडिओ घनश्याम उपाध्याय र प्रवक्ता जितेन्द्र बस्नेत आन्दोलनरत मीटरब्याज पीडितहरुसँग भेटघाट गर्न मध्यान्ह त्यहाँ पुगेको बताइएको छ।
विभिन्न जिल्लाबाट राजधानीमा आएर शान्तिबाटिकामा आन्दोलन गरिरहेका झण्डै पाँच सय जनाको माग सुन्न उनीहरु त्यहाँ पुगेका हुन्। टोलीमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की पनि छन्।
मीटरब्याजीहरुको माग र गुनासो सुनेपछि सिडिओ नेतृत्वको टोली १ बजे त्यहाँबाट निस्केको छ। किसान मजदुर संघर्ष समितिको नाममा मीटर ब्याज ठगीविरुद्ध आन्दोलन अर्थात मार्चपास भइरहेको छ। समिति अध्यक्ष अब्दुल कुसुवाको नेतृत्वमा भएको आन्दोलनमा सामाजिक अभियन्ता मनोज खतिवडा,नवीन जैसीलगायत छन्।