काठमाडौँ– स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित ३ जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले स्रोत १० लाख नगदसहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन्।
नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले अवैध नगद बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं.२–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो।
आरोपीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा, २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताए।