धनुषा– धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीहरु कार्यालयको कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका छन्।
उनीहरुले बुधबारदेखि ‘पेन डाउन’ गरी वडा कार्यालयदेखि गाउँपालिकासम्मका सम्पूर्ण कामकाज ठप्प पारेका हुन्। वारुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापनबाहेकका सबै कामकाज ठप्प गरी कर्मचारीहरु आन्दोलित बनेका छन्।
स्थानीय उपभोक्ता समितिका पप्पु राउतलगायतका व्यक्तिहरुले मंगलबार उपभोक्ता समितिको बक्यौता रकम माग गर्दै प्रमुख प्रशासकीय अधिकृत रञ्जित कुमार यादवलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ। त्यसैको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन्।
उपभोक्ता समितिका व्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत यादवको टेबल तोडफोड गर्दै गालीगलौजमा उत्रेपछि तनाव भएको थियो। कार्यालयमा तनाव र कर्मचारी आन्दोलित भएपछि कामकाज ठप्प गरिएको छ।
उनीहरुले कर्मचारीसँग दुर्व्यवहार गरी मानसिक तनाव दिएकोले आन्दोलन गर्नु परेको लेखापाल राधेश्याम रायले बताए। ‘कर्मचारीसँग दुर्व्यवहार गरेकोले कानुनी कारबाही नभएसम्म काममा फर्किंदैनौं,’ रायले भने, ‘गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायमा हामीले लिखित उजुरी गरेका छौं।’
कर्मचारीहरुको लिखित उजुरीसँगै कामकाज अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष राजकुमार साहले समेत यस्ता उच्छृङखल गतिविधिविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन्। धनौजी गाउँपालिकाले ९० उपभोक्ता समितिमध्ये ७४ वटाको करिब साढे ३ करोड रुपैयाँ गत वर्षकै भूक्तानी गर्न बाँकी रहेको छ।
सडक, नाला, ग्राभेललगायतका कामहरुको बक्यौता तिर्न बाँकी रहेको उपभोक्ता समितिहरुको भनाइ छ। यता, कर्मचारीहरुले कागजी प्रक्रिया नपुगेकोले भुक्तानीमा समस्या भइरहेको बताएका छन्।