कोरोना संक्रमण पुष्टिपछि सीमामा कडाइ - Chaitanya News
  • 2026-05-22
  • 15:29:15
  • शुक्रबार,जेठ ०८, २०८३
  • कोरोना संक्रमण पुष्टिपछि सीमामा कडाइ

    कोरोना संक्रमण पुष्टिपछि सीमामा कडाइ

    दार्चुला । दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ । भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । सीमानाका पुलघाटमा भारतबाट फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी घर पठाइएको छ । भारतमा कोरोना संक्रमण बढ्न थालेको छ । भारतमा मजदुरी गरी घर फर्किनेहरुमा कोरोना संक्रमण देखिन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

    नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ । यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।