काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा निर्मलपोखरी–९ कास्कीका लीलानाथ भण्डारी नियुक्त भएका छन्। चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।
सिंहदरबारमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दिएको राजीनामासमेत बैठकले स्वीकृत गरेको बताइन्।
चैत १० गतेकै बैठकले देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा देवघाट गाउँपालिका(३ तनहुँका भीमबहादुर रानालाई तोक्ने निर्णय गरेको छ। समितिको सदस्यमा निननाथ न्यौपाने, सानबहादुर दमै, रत्नलाल शर्मा, मोतीराम ढुंगाना, हरिप्रसाद पौडेल, प्रेमराज सापकोटालाई मनोनयन गर्ने चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
सोही बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका कानून सदस्यमा कृष्णप्रसाद पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी गराइन्।
उक्त अवसरमा उनले सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरिन्। गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग पाँच बुँदे सम्झौता भएको दुई दिनपछि नै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं आएर आन्दोलनमा रहेका बेला उनले यस्तो आग्रह गरेकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ।