काठमाडौं- सरकारले निजामतीमा दुई तह थप्ने तयारी गरेको छ। हाल १२औं र १३औं तहको पदलाई विशिष्ठ श्रेणीको सचिव मानिँदै आएकोमा अब दुई तह थपेर १३औं, १४औं र १५औं तहसम्म पुर्याउने प्रस्ताव सङ्घीय निजामती सेवा ऐनमा गरिएको छ।
प्रस्तावित मस्यौदाको दफा नम्बर ६ मा श्रेणी र पदसम्बन्धी व्यवस्था गरिएको छ। सो दफाले निजामती सेवा ऐनमा थप दुई तह थपेर १५औं तहसम्म पुर्याउने प्रस्ताव गरेको छ।
अहिले तहगतमा रहेका स्थानीय तह, प्रदेशलाई मिालउनुका साथै सेना, प्रहरीको पदमासमेत एकरुपता कायम गर्न यो प्रस्ताव गरिएको सरोकारवालाले जनाएका छन्।
मस्यौदामा अधिकृत १२औं तहमा बहाल रहेका निजामती कर्मचारी ऐन प्रारम्भ भएपछि अधिकृत १३औं तहमा कायम गरिने उल्लेख गरिएको छ। माथिल्लो तहमा बढुवा हुँदा अधिकृत १२औं तहको पदमा बहाल रहेको अवधिलाईसमेत हालको पदको अवधिमा गणना गर्ने बुँदा समावेश गरिएको छ।
यस्तै राजपत्राङ्कित प्रथम श्रेणीलाई अधिकृत ११औं र १२औं बनाइएको छ। राजपत्राङ्कित द्वितीय श्रेणीलाई अधिकृत १०औं र ९औं कायम गरिएको छ। राजपत्राङ्कित तृतीय श्रेणीलाई अधिकृत छैटौं, सातौं र आठौं बनाइएको छ।
त्यस्तै राजपत्र अनङ्कित प्रथमलाई सहायक पाँचौं, द्वितीयलाई सहायक चौथो र तृतीयलाई सहायक तेस्रोमा लगिएको छ। चतुर्थ र पाँचौं भने गणना गरिएको छैन।
यस्तै राजपत्र अनङ्कित तृतीय श्रेणी र सहायक तेस्रो तहमा कुनै निजामती कर्मचारीको पदाधिकार नरहेमा सो पद स्वतः खारेज हुने विधेयकको मस्यौदामा उल्लेख छ।
