सप्तरी— जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी कुटेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ। छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्।
यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए। साथै यसबारे थप अनुसन्धान गर्ने थापाले बताए।