काठमाडौं– सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमूना गाउँ निर्माण कार्यक्रम सञ्चालनका क्रममा आर्थिक अनियमितता गरेको भन्दै मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
तत्कालीन नगर प्रमुख थापाले नमूना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको कुनै बैठकबाट निर्णय नगराएको, कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताव समेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐनरनियमावली लगायतका प्रचलित कानून समेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता नजाँचेको तथा फिल्डमा काम गरे नगरेको नहेरी रकम भुक्तानीका लागि निर्देशन दिएको भन्दै विपक्षी बनाइएको छ। थापाविरुद्ध ५० लाख बिगो कायम गरिएको छ।
यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरी र मोहनबहादुर बस्नेत, लेखापाल लक्ष्मीप्रसाद अधिकारी तथा नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीए, अध्यक्ष भूमिसरा पुलामीलाई विपक्षी बनाइएको छ। बस्नेतविरुद्ध ५० लाख, गिरी र अधिकारीविरुद्ध २०–२० लाख तथा नमूना समाजका जीएम र पुलामीविरुद्ध ५० लाख बिगो कायम गरिएको छ।
नमूना समाजले नगरपालिकाबाट प्राप्त रकम सम्झौताबमोजिम खर्च नगरेको तथा नक्कली बिल भर्पाइ र कागजात तयार पारी पैसा हिनामिना गरेको आरोप छ।
उद्यमशीलता परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकासमेतसँग सम्झौता गरी नगरपालिकाबाट प्राप्त रकम सम्झौताबमोजिम खर्च नगरी नक्कली बिल भरपाई र कागजात तयार गरी खर्च भएको भन्ने देखाई आफूसमेतलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले कार्य गरी नगरपालिकासँग भएको सम्झौताबमोजिम कार्य नगरेको हुनाले निजहरू दुवैजना र नमूना समाज सुर्खेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा बिगो रु.५०,००,०००।– (पचास लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र बिगो रकमसमेत जफत गरिपाउन मागदाबी लिइएको छ, अख्तियारका प्रवक्ता भोला दाहालद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ।