उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाको उम्मेदवारी - Chaitanya News
  • 2026-07-03
  • 18:34:00
  • शुक्रबार,आषाढ १९, २०८३
  • उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाको उम्मेदवारी

    उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाको उम्मेदवारी

    पोखरा – वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन्। सोमबार विहान १० देखि ५ बजेसम्म समय तोकिएकोमा ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

    सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता भएको छ। उनलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी लगायत दलको समर्थन हुनेछ।

    नेकपा एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराए। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थशास्त्री स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता भएको छ। वाग्लेलाई विवेकशिल साझा पार्टीले समर्थन गर्ने भएको छ।

    नेपाल मञ्दुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, र नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनारले उम्मेदवारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टीले तनहुँमा पहिलो पटक उम्मेदवारी दिएको हो।

    उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ। गठबन्धनका भट्टराई, एमालेका खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
    उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ मतदाताले भोट हाल्न पाउनेछन्। १६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र तोकिएको छ।

    मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल ५ हजार ३८० मतान्तरले निर्वाचित भएका थिए। पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेर छैठौं पटक संसद प्रवेश गरेर पनि राष्ट्रपति बनेका छन्।

    पौडेलका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए। एकबहादुर चौथो हार हो। हालैमात्र कारबाही फुकुवा भएका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिँदा ६ हजार ८८६ मतसहित तेस्रो भए। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।

    समानुपातिकमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा भन्दा दोब्बर मत पाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७७३ मत समानुपातिमा पाएको थियो। कांग्रेसले प्रत्यक्षको तुलनामा ५ हजार कम २० हजार १५८ मत प्राप्त ग¥यो। समानुपातिकमा एमालेले १६ हजार ६८३, नेकपा माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ५ हजार ५७७ र नेकपा एकीकृत समाजवादी पार्टीले ९५० मत पाएका थिए।