ए डिभिजन लिग : संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई २–० गोल अन्तरले हरायो - Chaitanya News
  • 2026-05-22
  • 14:30:09
  • शुक्रबार,जेठ ०८, २०८३
  • ए डिभिजन लिग : संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई २–० गोल अन्तरले हरायो

    ए डिभिजन लिग : संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई २–० गोल अन्तरले हरायो

    काठमाडौँ– सोमबारबारट सुचारु भएको सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले एफसी खुमलटार युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ।

    सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७ औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो। संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो।

    पहिलो हाफमा भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको खुमलटारले गोलका लागि केही अवसर सिर्जना गरेपनि गोल फर्काउन सकेन। यस्तै संकटाले पाएका केही अवसरलाई पनि सदुपयोग गर्न असफल रह्यो। यसअघि १४ औं मिनेटमा खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरिएको थियो। १७ औं मिनेटमा राजिव लोप्चको प्रहार बाहिरिँदा खुमलटार अग्रता लिनबाट चुक्यो। २४ औं मिनेटमा नेल्सनको कर्नरमा जुनियरको हेडर पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमाएको थियो।

    अब संकटाले चैत २६ गते मछिन्द्र फुटबल क्लब तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लबको सामना गर्नेछ। यसैगरी च्यासल मैदानमा सम्पन्न विभागीय डर्बी भिडन्तमा नेपाल एपिएफ फुटबल क्लबले नेपाल पुलिस क्लबमाथि २–० को जित निकाल्यो । एपिएफलाई जित दिलाउन एडमा डोम्बिया र सविन गुरुङले समान एक गोल गरे।

    खेलको ५७ औं मिनेटमा डोम्बियाले एपिएफलाई अग्रता दिलाएका थिए। इन्जुरी समयमा सविनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए। यस जितसँगै ६ खेलमा १० अंक जोडेको एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।