काठमाडौँ– मोरङको धनपालथान गाउँपालिका–४ रंगेली घर भएका दिपेश लोहनी प्रेममा थिए। २२ वर्षीय लोहनीको प्रेमिका अध्ययनका लागी अमेरिका गइन्। १२ कक्षा पास गरेका लोहनी मोरङमै थिए। अमेरिका गएपछि प्रेमिका र दिवेशको बीचको प्रेम टुट्यो। प्रेम टुटेपछि दिवेशले प्रेमिकालाई दैनिक फोन र म्यासेज गरेर धाकधम्की दिए। फेसबुक आइडीसमेत ह्याक गरेर व्यक्तिगत फोटो र भिडियो पोष्ट गर्न थालेपछि दिवेशका विरुद्ध पीडित युवतीको अभिभावकले प्रहरीमा उजुरी दिएका छन्।
पीडितको अभिभावको उजुरीको आधारमा लोहनीलाई मोरङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा।मनोज केसीले बताए। चैत १९ मा पक्राउ परेका लोहनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रेम सम्बन्ध हुँदा दिपेशले प्रेमिकाको फोटो र संवेदनशील भिडियो समेत खिचेर राखेका थिए। सम्बन्ध टुटेपछि त्यस्ता भिडियो र फोटो प्रेमिकाकै फेसबुकबाट पोष्ट गरेर ‘ब्ल्याकमेल’ गरेका हुन्। फोटो र भिडियो फेसबुकमा साथी रहेकाहरुलाई पठाएर आरोपीले चरित्रहत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
आरोपीले आफ्नी छोरीलाई ‘फेसबुक लाइभ’मा आएर आत्महत्या गर्ने र फसाउने धम्की दिएको पीडितका अभिभावकले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ। दिपेशको साथबाट बरामद गरेको मोबाइलमा अश्लिल भिडियो र फोटो भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन्। आरोपीविरुद्ध प्रहरीले विद्युत्तीय कारोबार ऐन–२०४७ विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।