ब्याडमिन्टनका प्रिन्स र फुटबलकी कप्तान एन्जिलालाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी घोषित - Chaitanya News
  • 2026-06-05
  • 18:14:36
  • शुक्रबार,जेठ २२, २०८३
  • ब्याडमिन्टनका प्रिन्स र फुटबलकी कप्तान एन्जिलालाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी घोषित

    ब्याडमिन्टनका प्रिन्स र फुटबलकी कप्तान एन्जिलालाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी घोषित

    काठमाडौं– ब्याडमिन्टनका प्रिन्स दाहाल र राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा १७औं एनएनआईपीए स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले हरेक वर्ष खेलाडी तथा खेलकर्मीलाई सम्मान गर्दै आएको छ। वर्ष २०७८ को प्रदर्शनका आधारमा एनएनआईपीएले प्रिन्स र एन्जिलालाई सम्मान गरेको हो। दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

    काठमाडौंमा आयोजित अवार्ड समारोहमा करातेकी चन्चला दनुवार र गल्फका उदीयमान खेलाडी उद्भाव आचार्यले प्रतिभाशाली खेलाडी पुरस्कार पाए।

    उनीहरुले जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए।

    गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्डबाट पूर्व एथलेटिक्स खेलाडी तथा प्रशिक्षक खड्ग रानाभाटलाई सम्मानित गरियो।

    यो अवार्ड गजराज जोशी स्मृति ट्रष्टले प्रायोजन गरेको हो। रानाभाटले ३५ हजार रुपैयाँ पुरस्कार पाए।

    खेलाडी संघले यस वर्ष उत्कृष्ट पारा एथलिट अवार्ड बोसिया खेलकी शुभेच्छा खतिवडालाई प्रदान गरेको छ। उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

    वर्ष खेलकुद पत्रकार अवार्ड कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधरले पाए। उनले २५ हजार रुपैयाँ पुरस्कारसमेत पाए।

    खेलाडी संघले २६ वटा ओलम्पिक खेलका एक एक खेलाडीलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरेको थियो। सम्बन्धित खेल संघले गरेको सिफारिसका आधारमा खेलाडी सम्मान गरिएको हो।

    २६ मध्ये नेपाल तेक्वान्दो संघले भने आफ्नो उत्कृष्ट खेलाडीको नाम नपठाएको संघले जनाएको छ। सिफारिसका आधारमा उत्कृष्ट खेलाडी सम्मान पाउनेहरुमध्येबाट एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली र वर्ष खेलाडीका रुपमा चयन गरिएको हो।