भरतपुर– चितवन क्षेत्र २ मा बैशाख १० गते हुन लागेको संघीय उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट जीतनारयण श्रेष्ठ र नेकपा एमालेवाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन।
कांग्रेसका उम्मेदवार श्रेष्ठको कांग्रेस चितवनका सभापति राजेश्वर खनालको प्रस्ताव र नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन। श्रेष्ठलाई माओवादीलगायतका सत्ता गठवन्धनको समर्थन छ।
यस्तै, न्यौपानेको उम्मेदवारी दर्तामा प्रस्तावक एमाले नेता विजय सुवेदी र समर्थक एमाले नेता कृष्णभक्त पोख्रेल हुन। यसअघि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमवार उम्मेदवारी दर्ता गराइ सकेका छन। प्रस्तावक सीता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले उमेदवारी दर्ता गराए।
अहिले बेलुका ५ वजेसम्म दर्ता हुने उम्मेदवारीमा अहिलेसम्म ६ जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको छ। यसरी उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चाका जनार्दन शर्मा, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, नेपाल मंगोल अर्गनाइजेशन पार्टीका टेकवहादुर तमाङ, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैशी र स्वतन्त्रमा भाश्करचन्द्र न्यौपाने, ताराप्रसाद पौडेल, सुदर्शन कँडेल, सुभाष परियार, भोजराज बगालेले उमेदवारी दर्ता गराएका छन।
यसअघिको निर्वाचनमा लामिछानेले भारी मतान्तरले निर्वाचित संघीय सांसद हुँदा नागरिकतासम्वन्धी विवादमा सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पद पनि खारेज भएपछि यो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो।
गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका थिए। उनका निकटम प्रस्पर्धीभन्दा ३४ हजार १६२ मतान्तरले उहाँ अगाडि थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले १४ हजार ६४९ मत पाए।
अहिले चितवन २ मा एक लाख २४ हजार ६९५ मतदाता रहेका छन्। चार सय ८० नयाँ मतदाता थपिएका हुन्। गएको निर्वाचनमा एक लाख २४ हजार दुई सय १५ मतदाता थि । निर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको थियो।