काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका स्वर्णिम वाग्लेमाथि कडा टिप्पणी गरेका छन्।
तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघि भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले अब केही दिन न्याय–अन्याय, मान अपमानको विषय सुनिने बताए। पञ्चायतको कालरात्रीका बेला शान्तिपूर्ण ढंगले जीवन बिताउँछु मात्र भनेको भए राष्ट्रिय पञ्चायतको सदस्य, मन्त्री पाउने नेताहरुको अगाडि आफूले संघर्षको कुरा गर्न नसुहाउने उनले बताए।
तर आफूहरुले पनि मन्त्री र सांसद बन्छु कि बन्दिन भनेर नहेरेको बताए। त्यसो यस्तो हरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने उनले सुनाए।
‘झापाबाट निर्वाचित भएर आएको विश्वप्रकाश शर्मा निर्वाचन हार्दै गरेको गगन थापाको प्रस्तावक बस्दै गर्दा ५ वर्ष मन्त्री हुँदिन भन्ने थाहा थिएन? तनहुँको प्रदीप पौडेल, जो काठमाडौंबाट निर्वाचित भएको छ, गगन थापाको समर्थन बस्दै गर्दा मुखमै आएको मन्त्री बन्ने अवसरबाट बञ्चित हुन्छ भन्ने थाहा थिएन? थाहा थियो’, उनले अघि भने, ‘म पनि चुनाव लडेँ, विश्वप्रकाश, प्रदीप, बद्री पाण्डे लगायतका साथीहरु मेरो वरिपरि उभिनुभयो।’
आफूहरु पार्टीभित्र संघर्ष गरिरहेको र निरन्तरको संघर्षबाट कांग्रेसमा बदलाव ल्याउने उनले बताए। ‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथेँ’, उनने भने, ‘मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, समर्थक बस्न प्रदीप पौडेल आउन्दैनथे।’
कांग्रेसमा सुधार आफूहरुको लडाइँ भएको भन्दै उनले भ्रममा नपर्न देशभरीका तन्नेरीहरुलाई आग्रह गरे। कांग्रेस छाडेर रास्वपाका उम्मेदवार वाग्लेको नाम नलिर्ई उनले भने, ‘कहिले काँही साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको। मलाई भन्न मन लाग्छ मैले त जागिर नखाएको, तिमीले जागिर खाएर छोडेर आएको ।’
उनले अघि भने, ‘मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’