विराटनगर– जनता समाजवादी पार्टीले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ।
जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट गरेका हुन्।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको भन्दै प्रदेश सरकारको बेग्लै महत्व रहेको बताए। भने, “केन्द्र र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हुन्।
उनले केन्द्रमा एउटा र प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित रहेको बताउँदै नेकपा (माओवादी केन्द्र) र राप्रपा सरकारबाट नहटेसम्म कोसी प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको र सबै जटिल अवस्थालाई बुझेर जसपाले समर्थनलाई निरन्तरता दिने राईले बताए।
कोसीमा जसपाका एक सांसदको सरकारलाई समर्थन छ। पार्टीकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन्।
एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएमात्र गठबन्धनको बहुमत पुग्छ। तर, बहुमत ४७ का लागि सभामुखको निर्णायक मत आवश्यक पर्ने भएकोले माओवादी नेताले समेत यही सरकारलाई समर्थन गर्ने अभिव्यक्ति दिइरहेका छन्।