वीरगञ्ज – नेकपा एमालेका नेता महेश बस्नेतले बारामा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव तीन वटा टाउको भएको नाग बनेर आउन लागेको टिप्पणी गरेका छन्।
उनले बारा–२ मा हुन लागेको उपनिर्वाचनमा यादव आफ्नो पार्टीसहित माओवादी र कांग्रेसको साथ लिएर तीन वटा टाउको भएको नाग बनेर आउन लागेको बताएका हुन्। नेकपा एमाले उक्त नागलाई तह लगाउने गरुडको रुपमा तयार भएर बारा–२ मा बसेको बस्नेतले दाबी गरे।
‘आज उपेन्द्र जीसँग कांग्रेस पनि मिलेर आइरहेको, माओवादी पनि मिलेर आइरहेको छ। त्यही भएर उपेन्द्र जी तीन वटा टाउको भएको नाग भएर आइरहनु भएको छ,’ उनले भने, ‘मलाई लाग्छ, नेकपा एमाले त्यो तीन वटा टाउको भएको नागलाई तह लगाउन तयार भएर बसेको छ बारा–२ मा।’
राष्ट्रिय युवा संघको पर्सा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले मधेस प्रदेशमा कर्णाली र सुदूरपश्चिम प्रदेशको भन्दा पनि कम साक्षरता रहेको र मानव सुचकांकमा पनि सबै प्रदेशभन्दा पछाडि रहेको बताए।
मधेस आन्दोलनको बलमा उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीले अनेकौँ सुविधा र लाभहरु प्राप्त गरेको बताउँदै उनले उप्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीसमेत पाएकाले मधेस पछाडि पर्नुको दोष उनीहरुले लिनुपर्ने बताए।