मिटरब्याज पीडितको समस्या समाधानमा गम्भीर छु : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-21
  • 10:35:30
  • बिहिबार,जेठ ०७, २०८३
  • मिटरब्याज पीडितको समस्या समाधानमा गम्भीर छु : प्रधानमन्त्री

    मिटरब्याज पीडितको समस्या समाधानमा गम्भीर छु : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितहरुको माग समाधानका लागि सरकार अगाडि बढिसकेको बताएका छन्। आज (शनिबार) मिटरब्याज पीडितहरुसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने र दीर्घकालीन समाधानका लागि ऐन बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका हुन्।

    ‘सरकार तपाईँहरुको माग समाधान गर्ने विषयलाई लिएर अगाडि बढेको छ। एकातिर दीर्घकालीन समाधान गर्न ऐन बनाउने, तत्काल समाधान गर्न उच्चस्तरीय आयोग बनाउने, तपाईँहरुको माग पुरै पुरा गर्ने पक्षमा छु म। यसमा ढुक्क भए हुन्छ,’ मिटरब्याज पीडितहरुसँग प्रधानमन्त्री प्रचण्डले भने।

    मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने र माग पुरा गर्ने काम सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने काम हो भन्ने आफ्नो बुझाई रहेको पनि उनले बताएका छन्। यो पटकको लडाई जितिनेमा कुनै शंका नलिन पनि उनले पीडितहरुलाई आग्रह गरे।

    ‘यो समस्या समाधान गर्ने कुरा सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने कुरा हो भन्ने बुझेको छु मैले। यो एउटा ठूलो लडाइ हो। यो व्याटल हामीले जित्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

    साथै मिटरब्याज पीडितका ६ बुँदे माग समाधानका लागि सरकार अगाडि बढ्ने उनले बताए। आफूले पीडितहरुको पक्षमा पहिलादेखिनै गम्भीरतापूर्वक काम गरिरहेको पनि उनले बताए।