तीन महिनामै सात पटक मन्त्रिपरिषद विस्तार - Chaitanya News
  • 2026-05-21
  • 09:29:22
  • बिहिबार,जेठ ०७, २०८३
  • तीन महिनामै सात पटक मन्त्रिपरिषद विस्तार

    तीन महिनामै सात पटक मन्त्रिपरिषद विस्तार

    काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व रहेको सरकारले ३ महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको छ।

    पटक–पटक मन्त्रिपरिषद् पुर्नगठन हुँदा सरकारले पूर्णता भने पाउन सकेको छैन। सत्ता समिकरणमा आएको फेरबदल र कांग्रेसभित्रको आन्तरिक विवादका कारण सरकारले पूर्णता पाउन सकेको देखिन्न।

    शुक्रबार एक कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्।

    आफू प्रधानमन्त्री बनेको ३ महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रचण्डले भागबण्डा मिलेको र अब सरकारले गति लिने बताए।

    मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको र बारा २ मा हुने उपनिर्वाचनमा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने छनक पाएपछि असन्तुष्ट बनेका जनमतका मन्त्री खानले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन्।

    प्रचण्डले पुष ११ मा सपथ लिएसगै माघ ३, १४ र २३, फागुन १२ र १४ मा र शुक्रबार गरी ७ पटक मन्त्रिपरिषद् पुनर्गठन गरे तर पनि मन्त्रीपरिषद्ले पूर्ण आकार पाउन सकेन।

    अझै सरकार अपूर्ण बन्नुमा भागबण्डामा गठबन्धन दलबीच रोजाईको मन्त्रालय नपर्नु मात्र होइन। कांग्रेसको आन्तरिक संर्घष अर्को कारक बन्यो।

    सरकारको भागबण्डामा ८ मन्त्रालयको पाएको कांग्रेसले ४ जना मन्त्री मात्र सरकार पठाएको छ।

    नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उनी उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्।

    यस्तै, कांग्रेसबाट अरु नेताहरु प्रकाशशरण महत अर्थ, सीता गुरूङ सहरी विकास, रमेश रिजाल उद्योग मन्त्री गरी ४ जना मन्त्री बनेका छन्।

    गगन–शेखर पक्षले आफ्नो पक्षमा सम्माजनक प्रतिनिधित्व नभएकाले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ।