काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल गर्ने बताएकी छन्। यसका लागि कार्ययोजना पेश गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन समेत दिएकी छन्।
शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने ‘गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार तथा पर्यटन प्रवद्र्धन’ कार्यशालाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन्। हालैको भारत भ्रमणमा आफूले दोलखाको चरिकोटमा निर्माणाधीन अन्तर्राष्ट्रिय फिल्मनगरीको निर्माणमा सघाउन भारतीय अधिकारीहरुलाई आग्रह गरेको उनले बताइन्।
नेपाल फिल्म छायांकनको आकर्षक गन्तव्य थलो रहेको भन्दै उनले आफूले भारतीय सञ्चार सचिवलाई दोलखा फिल्म सिटी बनाउन सघाउन आग्रह गरेको बताइन्। सरकारले सातै प्रदेशमा फिल्म सिटी बनाउने योजना यसअघि नै बताइसकेको छ।
नेपाली फिल्म यतिबेला सन् २०२६ को ऐनले चलिरहेको भन्दै समयसापेक्ष नियम ल्याउनुपर्ने र यसका लागि आफूले पहल गर्नुपर्ने उनले बताइन्। फिल्म निर्माणमा महिलाको सहभागिता वृद्धि गर्न महिला फिल्ममेकरलाई हौसला बढाउनुपर्ने उनको भनाइ छ। बुद्धबारे यथार्थपरक बायोपिक फिल्म बनाउनुपर्ने समेत उनको सुझाव छ।