चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताएका हुन्।
विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहन सक्ने जातको विकास, चिला पिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उनले सुनाए।
करिब छ दशक अघिसम्म शिक्षाको कमी हुँदा अर्ग्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उनले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताए। उनले भने, ‘अहिले आयात गर्ने अवस्थामा कसरी पुगियो। त्रुटि कहाँ छ भन्ने अब शिक्षित वैज्ञानिकले खोज्नु पर्नेछ।
सात वटै प्रदेशमा यस विश्वविद्यालयले आङ्गिक क्याम्पस बिस्तार गरेको बताउँदै उनले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गरे। दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उनको भनाइ छ, ‘आफूले सिकेको ज्ञान, सीप कृषकसमक्ष बाँड्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।