रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यामहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन आग्रह गरेका छन। समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको उनको भनाइ थियो।
बुधवार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युज को सम्भावना नरहेको तर्कसमेत गरे। उनले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्क मा काम गर्न पनि सञ्चारमाध्यमहरूलाई सुझाव दिए।
उनले भने ‘अत्यन्तै तीव्रताका साथ सञ्चारका प्रविधिहरू विकास भइरहेका छन। टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालसँग हच्किएको देख्छु। तर समाचारका स्रोतहरू टेलिभिजन लगायतका सञ्चारमाध्यमहरू नै हुन्। त्यसैले सञ्चारमाध्यम सामाजिक सञ्जालबाट हच्किन पर्दैन। टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो।
अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि नेपालमा सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराए ।