काठमाडौं– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए।
प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको बताए। ‘यहाँ विचित्र रहेछ, इम्बोस्ड नम्बर प्लेट ‘रिड’ गर्ने प्रविधियुक्त गेट नै छैन,’ उनले भने, ‘गेट राख्न पहल लिएका छौं, २ ठाउँमा राख्ने निर्णय भइसकेको छ।’
मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको बताए। ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भएपनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले बताए।
‘इम्बोस्ड जोड्दाको शुल्क केही कम गर्न सकिन्छ भनेर छलफल भएको छ’ उनले भने। मन्त्री श्रेष्ठले सवारीको फिटनेस टेस्ट र ग्रिन स्टिकरका लागि लाइन लाग्न नपर्ने व्यवस्था गर्न लागिएको बताए। यसका लागि सूचना प्रविधिको प्रयोग गरिने मन्त्री श्रेष्ठले बताए।