काठमाडौं– आगामी २०८४ को आमनिर्वाचन नेपाली कांग्रेस एक्लैले लड्ने दाबी महामन्त्री गगन थापाले गरेका छन् ।
शनिबार कांग्रेस क्षेत्रीय समितिले भैरहवामा गरेको छलफलमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा कांग्रेस एक्लैले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएका हुन्।
उनले भने, ‘अब कांग्रेसलाई जराबाटै बलियो बनाउनुपर्छ। २०८४ मा जति वटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ। ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसले अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्छ।’
उनले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भई बनेको नेकपा विभाजन र संसद् विघटनकै कारण गठबन्धनको संस्कृतिले बढावा पाएको दाबी गरे। उनले पार्टीको भन्दा तीन गुणा बढी गठबन्धनको बैठकमा बस्नु परेपछि जनताबाट असन्तुष्टि आउनु स्वाभाविकै भएको औंल्याए।