तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगकाे तयारी - Chaitanya News
  • 2026-05-17
  • 08:32:30
  • आइतबार,जेठ ०३, २०८३
  • तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगकाे तयारी

    तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगकाे तयारी

     

    काठमाडौं –  निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल शुरू गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

    ‘चितवनमा उपनिर्वाचन गराउने बेलामै तनहुँ र बारा पनि निर्वाचन गराउँदा स्रोत साधनको किफायतीका हिसाबले राम्रो हुनेछ कि भनेर सोचका छौं । सरकारसँग छलफल गरेर यसको घोषणा गर्नेछौं’ –उहाँले भन्नुभयो । २०७९ साल मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्र रिक्त भएको थियो । आयोगले गत माघ २९ गते सो क्षेत्रमा उपनिर्वाचन गराउने घोषणा गर्दै तयारी अघि बढाएको थियो ।

    त्यसै गरी चितवन २ को निर्वाचन कार्यक्रमअनुसार नै चैत १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्नेलगायत वैशाख १० गते नै निर्वाचन गर्ने आयोगले तयारी गरिरहेको छ । चितवनमा उपनिर्वाचनको प्रयोजनले दल दर्ता गर्ने कार्य सकिएको छ भने अरू तयारीहरू गरिरहेको स्थितिमा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउनुपर्ने स्थिति उत्पन्न भएको हो ।