काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालले जनाएको छ ।
नेकपा (एमाले)को समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए । तर सरकार गठनमा भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सहमति तोडेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।
राष्ट्रपति निर्वाचनमा तत्कालिन गठबन्धन भत्किएसँगै एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
यसअघि, प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदा २६८ मत पाएका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री प्रचण्डलाई माओवादीसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत १० दलीय गठबन्धनले विश्वासको मत दिने बताइएको छ ।