काठमाडौं– बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको माघ मसान्तसम्म १ खर्ब ४३ अर्ब ६६ लाख रुपैयाँ कर्जा नोक्सानी (प्रोभिजन) गरेका छन्।
माघ मसान्तसम्म ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका विकास बैंकले ४८ खर्ब ५९ अर्ब रुपैयाँबापत १ खर्ब ४३ अर्ब रुपैयाँ नोक्सानी प्रोभिजन गरेका हुन्।
गत वर्ष यसै अवधिमा बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ९० अर्ब रुपैयाँ कर्जाबापत १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ प्रोभिजन गरेका थिए। गत वर्षको तुलनामा चालू आवको ७ महिनामा प्रोभिजन ३४ अर्ब २६ करोड रुपैयाँले धेरै हो।
चालू आवको ७ महिनामा (क) वर्गका वाणिज्य बैंकको कर्जा नोक्सानी दर २.४९ प्रतिशत पुगेको छ। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकको कर्जा नोक्सनी दर १.१८ प्रतिशत थियो। गत वर्षको तुलनामा प्रोभिजन दोब्बर पुगेको हो।
गत वर्षको ७ महिनामा विकास बैंकको कर्जा नोक्सानी दर १.४२ प्रतिशत रहेकोमा यो वर्ष बढेर २.८२ प्रतिशत पुगेको छ।
फाइनान्स कम्पनीको कर्जा नोक्सानी ७.८२ प्रतिशत र लघुवित्तको कर्जा नोक्सानी दर २.६३ प्रतिशत पुगेको छ।
गत वर्षको ७ महिनामा फाइनान्स कम्पनीको कर्जा नोक्सानी दर ७.५ प्रतिशत र लघुवित्तको १.३१ प्रतिशत थियो।
वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीको कर्जा नोक्सानी दर बढेर दोब्बर नै पुगेको छ। यता फाइनान्स कम्पनीको कर्जा नोक्सानी समेत बढेको छ।
माघसम्म वाणिज्य बैंकहरुले मात्रै १ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ कर्जा नोक्सानी (प्रोभिजन) छुट्याएका छन्। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकले ९४ अर्ब रुपैयाँ १५ करोड प्रोभिजन छुट्याएका थिए।
विकास बैंकले माघसम्ममा १३ अर्ब ०७ करोड रुपैयाँ र फाइनान्स कम्पनीले ६ अर्ब ३४ करोड रुपैयाँ प्रोभिजन गरेका छन्। गत वर्ष यसै अवधिमा विकास बैंकले ८ अर्ब ४२ करोड र फाइनान्स कम्पनीले ६ अर्ब ३४ करोड रुपैयाँ प्रोभिजन छुट्याएका छन्।
फाइनान्स कम्पनीको औसत प्रोभिजन दर बढे पनि रुपैयाँ भने घटेको छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाअनुसार असल कर्जामा १.१३ प्रतिशत, सूक्ष्म निगरानी ५ प्रतिशत, कमसल कर्जा नोक्सानीबापत २५ प्रतिशत, शंकास्पद कर्जाबापत ५० प्रतिशत र खराब कर्जा नोक्सानीबापत १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकले सक्रिय कर्जामा असल र सूक्ष्म निगरानीका कर्जा राखेको छ। त्यसैगरी सूक्ष्म निगरानीमा १ महिनादेखि ३ महिनासम्म भाखा नाघेका कर्जा, ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कमसल कर्जा, ६ महिनादेखि १ वर्ष भाखा नाघेका शंकास्पद, १ वर्षभन्दा बढी अवधिको भाखा नाघेको कर्जा खराब कर्जाको रुपमा वर्गीकरण गरेको छ।
पछिल्लो समय व्यापार व्यवसाय राम्रोसँग सञ्चालन हुन नसकेपछि खराब कर्जा बढ्दै गइरहेको छ। बैंकरहरु समेत खराब कर्जा थप बढ्ने आकलन गरिरहेका छन्। चालू आवको पुससम्ममा वाणिज्य बैंकको खराब कर्जा दोब्बर भएको छ।
कुन वाणिज्य बैंकको प्रोभिजन कति?
चालू आवको सात महिनामा इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै प्रोभिजन छुट्याएको छ। दोस्रोमा ग्लोबल आईएमई र तेस्रोमा कुमारी बैंक छ।
नेपाल बैंकले ५ अर्ब ६४ करोड रुपैयाँ कर्जा नोक्सानी छुट्याएको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९३ करोड, नबिल बैंकले ९ अर्ब ६९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १३ अर्ब २ करोड, नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड र हिमालयन बैंक ९सिभिल बैंक मर्ज०पछि ७ अर्ब ९८ करोड रुपैयाँ प्रोभिजन गरेका छन्।
साथै, नेपाल एसबीआई बैंकले २ अर्ब ८१ करोड, एभरेष्ट बैंकले २ अर्ब ७६ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ६० रुपैयाँ, माछापुच्छ्रे बैंकले २ अर्ब ८५ करोड, कुमारी बैंकले ९ अर्ब २८ करोड, लक्ष्मी बैंकले ३ अर्ब ३८ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ९७ करोड, कृषि विकास बैंकले ७ अर्ब ७० करोड, ग्लोबल आईएमईले ११ अर्ब ३ करोड, सिटिजन बैंकले ४ अर्ब १७ करोड, प्राइम कमर्सियल बैंकले ५ अर्ब ७ करोड, सनराइज बैंकले ३ अर्ब ९४ करोड, एनएमबी बैंकले ५ अर्ब ३२ करोड, प्रभु बैंकले ७ अर्ब ५९ करोड र सानिमा बैंकले २ अर्ब ८६ करोड रुपैयाँ प्रोभिजन गरेका छन्।