काठमाडौं– काठमाडौं महानगरपालिकाले नक्साविपरीत निर्माण भएका भौतिक संचरना हटाउने कार्यलाई आज पनि निरन्तरता दिने भएको छ। महानगरले केही दिनयता सडक क्षेत्र अतिक्रमण गरेर निर्माण भएका तथा नक्साविपरीत निर्माण भएका संरचना हटाउने कार्य गर्दै आएको छ।
आज काठमाडौंको शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको संरचना र नबिल बैंकको न्यूरोड शाखाको संरचना भत्काउने तयारी काठमाडौं महानगरले गरेको छ। यसका लागि डोजरसहित कर्मचारीहरूलाई तम्तयार रहन निर्देशन दिइएको छ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ। नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो।
उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ।
नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै काठमाडौं महानगरले भत्काउन थालेको हो। हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ ।
संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने छ। अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो। सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो।
यसबाट पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास छ । सूचना जारी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा नआएपछि अवैध संरचना हटाउन थालिएको हो। अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले पहल गर्ने जनाएको छ।