काठमाडौँ– आज बुधबार सेयर बजारमा २४ अंकको गिरावट आएको छ। कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९९५ अंकमा आएर रोकिएको हो।
नेप्से परिसूचक दोहोरो अंकले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। यसक्रममा ३७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय अंकको बिन्दुतर्फ आएपनि आदर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन्।
आज यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३ रुपैयाँ पुगेको छ। आज एकै दिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँले बढेको हो। यस्तै, आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९।६१ प्रतिशतले घटेको छ। यो कम्पनीको सेयर कित्तामा १३३५ रुपैयाँले घट्दै १२ हजार ५६४ रुपैयाँ कायम भएको छ।
आज नेप्सेमा अप्पर तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा धेरै किनबेच भएको छ। यो कम्पनीको सेयर आज मात्रै ८ करोड ७२ लाख रुपैयाँको किनबेच भएको हो। यसपछि शिवम सिमेन्टको सेयर ८ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ।
परिसूचक दोहोरो अंकले घट्दा सबै समूहका सूचक घटेका छन्। कारोबार भएका १३ वटै सूचक घट्दा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा गिरावट आएको छ। यो समूहको सूचक १५६ अंकले र उत्पादनमूलक समूहको सूचक १११ अंकले घटेको छ।