काठमाडौं– चालू आर्थिक वर्ष २०७९–०८० को पुस मसान्तमा एक दर्जन वाणिज्य बैंकको प्राथमिक पुँजी अनुपात (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ।
यसले उनीहरूको लाभांश वितरण प्रभावित हुने देखिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पुस मसान्तमा प्रभु बैंक, एनआईसी एशिया बैंकसहित ११ वाणिज्य बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा कम छ।
तिनमा सानिमा बैंक, प्रभु, सनराइज, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया, नेपाल एसबीआई र हिमालयन बैंक छन्।
राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ, जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो।
यस्तो अनुपात बैंकहरूले दैनिक रुपमै कायम गरेर व्यवसाय गर्नुपर्ने हुन्छ। यस्तै मासिक रूपमा राष्ट्र बैंकमा यसको रिपोर्टिङ गर्नुपर्ने हुन्छ।
सोही व्यवस्थाअनुसार प्राथमिक पुँजी ८.५ प्रतिशत पुर्याउन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आइरहेको छ। गत वर्षको नाफाबाट एनआईसी एशिया, लक्ष्मी, माछापुच्छ्रे र सनराइज बैंकको लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको थियो।
गत वर्ष यी चार बैंकको सीसीएर ८.५ तल आएका कारण लाभांश वितरणमा रोक लगाएको राष्ट्र बैंकले जनाएको छ। कुनै पनि त्रैमासिकसम्म सीसीएआर ८.५ प्रतिशत तल आए सो बैंकलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेका छ।
दैनिक तथा मासिक रूपमा पनि तोकिएको पुँजीकोष कायम नगर्ने बैंकहरू राष्ट्र बैंकको सुपरिवेक्षकीय कारबाहीमा समेत पर्ने व्यवस्था छ।
राष्ट्र बैंकको विवरण अनुसार यस वर्ष पनि बैंकहरूको लाभांश वितरणमा धक्का पर्ने देखिएको छ। गत आर्थिक वर्षमा पनि कतिपय बैंकहरूले प्राथमिक पुँजीको सीमा नभेट्दा लाभांश वितरण गर्न पाएका थिएनन्।
कुनको सीसीएआर कति?
पुस मसान्तमा औसतमा वाणिज्य बैंकको सीसीएआर १३.०१ रहेको छ। असोज मसान्तमा १३.४५ प्रतिशत थियो। २०७९ पुस मसान्तमा एनआईसी एशिया बैंकको सीसीएआर ९.१२ प्रतिशत छ। असोज मसान्तमा एनआईसीको सीसीएआर ८.९५ प्रतिशत रहेको छ। असार मसान्तमा यस बैंकको सीसीएआर ८.९३ प्रतिशत रहेको थियो।
यस्तै, नेपाल राष्ट्र बैंकले गत वर्षको नाफाबाट माछापुच्छ्रे बैंकको लाभांश वितरणमा पनि रोक लाग्ने भएको छ। गत असार मसान्तमा यस बैंकको सीसीएआर ८.८१ प्रतिशत, असोजमा ८.७१ प्रतिशत रहेकोमा अहिले सबैभन्दा कम ८.६४ प्रतिशत कायम भएको छ। लक्ष्मी बैंकको सीसीएआर ९.३१ रहेको छ। असोजमा ९.९३ प्रतिशत रहेको थियो।
यस्तै, सनराइज बैंकको सीसीएआर ९.३०प्रतिशत, सिद्धार्थ बैंकको ९.१८ प्रतिशत, सानिमा बैंकको ९.४२ प्रतिशत, कुमारी बैंकको ८.९१ प्रशित रहेको छ। प्रभु बैंकको ८.९० प्रतिशत, सिटिजन्सको ९.६० प्रतिशत, कुमारी बैंकको ८.९१ प्रतिशत, नेपाल एसबिआईको ९.९३ प्रतिशत र हिमालयन बैंकको ९.५८ प्रतिशत रहेको छ।
सीडी रेसियो कुनको कति?
पुस मसान्तमा वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.५३ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुले सीडी रेसियो ९० प्रतिशत माथि पुर्याउन नहुने व्यवस्था छ।
चालू आर्थिक वर्ष २०७९–०८० पुस मसान्सम्म कुमारी बैंकको सीडी रेसियो ९०.७० पुगेको छ। अन्य सबै वाणिज्य बैंकको सीडी रेसियो ९० तल हुदाँ कुमारी बैंकको मात्र ९० माथि पुगेको छ।