प्रदेशको नामकरणमा विरोध रोक्न विराटनगरमा गर्‍यो स्थानीय प्रशासनले निषेधाज्ञा - Chaitanya News
  • 2026-05-19
  • 23:29:56
  • मंगलबार,जेठ ०५, २०८३
  • प्रदेशको नामकरणमा विरोध रोक्न विराटनगरमा गर्‍यो स्थानीय प्रशासनले निषेधाज्ञा

    प्रदेशको नामकरणमा विरोध रोक्न विराटनगरमा गर्‍यो स्थानीय प्रशासनले निषेधाज्ञा

    विराटनगर– प्रदेश १ को नामकरणको विषयलाई लिएर उत्पन्न हुन सक्ने सुरक्षा खतरालाई दृष्टिगत गरी विराटनगरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

    जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो।

    प्रदेशमा कोशी नाम राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन्।दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

    प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो।

    ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ। प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ। अन्य क्षेत्रबाट प्रदेश राजधानी आउने सवारी जाँचमा पनि प्रहरीले कडाइ गरेको छ।