सबै सरकारी निकायका वेबसाइटहरु अब एकै स्वरुपमा देखिने - Chaitanya News
  • 2026-10-29
  • 10:25:34
  • बिहिबार,कार्तिक १३, २०८३
  • सबै सरकारी निकायका वेबसाइटहरु अब एकै स्वरुपमा देखिने

    सबै सरकारी निकायका वेबसाइटहरु अब एकै स्वरुपमा देखिने

    काठमाडौं– अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ। जसको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन्।

    मन्त्रालयका अनुसार यस प्रणालीको प्रयोग गरी विकास गरिएका मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ।

    यो प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिमा दक्ष जनशक्ति नहुँदा समेत उपलब्ध जनशक्तिकै माध्यमबाट आफ्नो निकायको वेबसाइट सहजै, निःशुल्क र सुरक्षित रुपमा विकास गर्न सक्ने मन्त्रालयले जनाएको छ। अब निकायगत रुपमा वेबसाइट विकास, अध्यावधि र सपोर्टका लागि वर्षेनी हुने खचर्ए समेत बच्ने मन्त्रालयको भनाइ छ। सरकारी निकायले आफ्नो कार्यालयसँग सम्बन्धित सूचना तथा जानकराी सरल र सहज रुपमा प्रकाशनमा ल्याउन सक्ने भएका छन्।

    नयाँ वेबसाइट अब अपाङ्गता मैत्री बन्ने भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वेबसाइटहरुको व्यापक अध्ययन र अनुसन्धानपछि योे प्रणाली विकास गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

    सरकारी निकायको वेबसाइट मोबाइलको माध्यमबाट समेत हेर्न सकिने गरी मोबाइल एपको समेत विकास गरिएको छ। अब सबै सरकारी निकायका वेबसाइट र एपको निरन्तर निगरानी गरी जोखिम न्यूनीकरण गर्न सक्ने गरी वेव मोनिटरिङ प्रणाली समेत आजैदेखि सञ्चालनमा ल्याइएको छ।