काठमाडौँ— नेपाल सुनचाँदी व्यवसायीले सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन माग गरेका छन्। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयूक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन सरकारसँग माग गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा प्रणाली चलाइएको बताए। बजारमा सुनको माग बढी भए पनि मागअनुसार बिक्री वितरण गर्न नपाएको उनले बताए। उनले भने ‘लगानी सुरक्षित हुने, कर्मचारीहरुको रोजगारी सुरक्षित हुने, उपभोक्ताको घरघरमा सम्पत्तिको रुपमा रहेको सुन, चाँदीको गरगहनालाई सहज तरिकाले कारोबार गर्न सक्ने नीति नियम अहिलेको आवश्यकता हो। कोटा सिस्टम निश्चित समयका लागि हो, सधैंका लागि होइन, अहिलेसम्म कोटा सिस्टम लागू भइरहेको छ, त्यो हट्नुपर्छ र बजारको माग अनुसार आयात गर्नुपर्छ।’
महासंघले बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा सुनको माग आएपनि १० किलो मात्रै आयात भइरहेको जनाएको छ। विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीले विनाभन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार बजारलाई केही धाने पनि अहिले प्रहरीले अनावश्यक दुःख दिने गरेको उनको भनाइ छ। महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्षा हुन जरुरी रहेको बताएको छ।