किसानलाई आवश्यक मल र राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन दिँदैनौं : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-05-01
  • 02:18:04
  • बिहिबार,बैशाख १७, २०८३
  • किसानलाई आवश्यक मल र राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन दिँदैनौं : अर्थमन्त्री पौडेल

    किसानलाई आवश्यक मल र राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन दिँदैनौं : अर्थमन्त्री पौडेल

    काठमाडौँ— उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई आवश्यक मल र राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन नदिने बताएका छन्। बजेटको अर्धवार्षिक समीक्षामार्फत कुल खर्च कटौती गरेपछि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै पौडेलले विश्व बजारमा मलको लागत बढे पनि किसानका लागि आवश्यक परिमाण ल्याउनका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए।

    त्यस्तै स्रोतमा परेको चापका कारण कार्यविधि नै नबनेका तथा अनावश्यक आयोजनालाई अहिले थाती राखिएको उनले बताए। राष्ट्रिय गौरवका आयोजनामा भने बजेटको कमी हुन नदिइने उनको भनाइ छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृष्यका कारण मुलुकको अर्थतन्त्रमा केही चुनौती रहेको भन्दै उनले राजस्व प्राप्तीको वास्तविक तथ्यांकले अहिलेको अवस्था जनाउने टिप्पणी गरे। गत आर्थिक वर्षको सुरुको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा संकलित राजस्व नै १५ प्रतिशत घटेका कारण पनि खर्च कटौती अहिलेको आवश्यकता रहेको औंल्याए।

    पुँजी बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अर्थतन्त्रसँगै पुँजी बजारको विकास हुने आश्वासन दिए। ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल हुने संभावना नदेखिएको पनि उनले बताए। उनले भने ‘कृषितर्फ धानको उत्पादनमा यस वर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन क्षेत्र क्रमशस् सुधार हुँदै गएको देखिएको छ। यी सकारात्मक पक्ष भए पनि उत्पादनमूलक उद्योगहरू पूर्ण क्षमतामा सञ्‍चालन हुन नसकिरहेकोले आर्थिक गतिविधिमा सुस्तता आएको देखिन्छ। ’