चैतन्य १० वर्षमा प्रवेश गर्दै गर्दा एउटा संस्था बनेको छ। यसले चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, चैतन्य खबर, चैतन्य सिए, ऐश्वर्य प्रकाशन प्रालि र चैतन्य पाठशाला जस्ता धेरै पाठशालाहरूको यो एउटा घर जस्तो भएको छ। म चैतन्यसँग सुरुको दिनदेखि जोडिएको छु। चैतन्यले ब्यापारमात्र गरेको छैन। सामाजिक उत्तरदायित्व बहन पनि गरेको छ। कतिपय नेपाल सरकारले नै गर्नुपर्ने काम पनि गरिरहेको छ।
जो लोकसेवा पास गरेर शाखा अधिकृत हुनुभएको छ तपाईंहरूको वास्तविक परीक्षा अब सुरु भयो। पढ्नु भयो पास हुनुभयो। पास हुनका लागि केही क्याप्सुल टोकराज जीले दिनुभयो, केही मैले दिए, केही लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीका आर्टिकलबाट पाउनुभयो होला। अरू सरका कुरा पढ्नुभयो। चैतन्यले प्लेटफर्म उपलब्ध गराइदियो। अब कामबाट उत्तर दिनुहोला।
व्यावसायिक र सदाचारी कर्मचारी आवश्यकता हो। यति भएमा निकै राम्रो कर्मचारीका रूपमा आफ्नो यात्रा तय गर्न सक्नुहुन्छ। सरुवाका लागि कसैको घर धाउनु नै हुँदैन। बढुवा र सरुवा स्वतः हुन्छ। दुर्गम जानुपर्छ कि भन्ने चिन्ता भए त्यसलाई हटाइदिनुस्। दुर्गम जाँदा केही हुँदैन। दुर्गम गइदिनुस्। लोकसेवा आयोगको पूर्व अध्यक्ष उमेश मैनालीले जुम्ला गएर काम गर्नुभएको छ। मैले रोल्पा गएर काम गरे। के फरक पर्यो र?
कर्मचारीले देश चिन्नु पनि पर्छ। निजामति सेवा राष्ट्र वाधक हो भन्ने भाष्य निर्माण भएको छ। एक दिन उपराष्ट्रपति नन्दबहादुर पुन र म एउटा स्टेजमा दिनभर थियौं। निजामतिसेवा राष्ट्र सेवक हो भन्ने म र राष्ट्र बाधक हो भन्ने उहाँ। अब राष्ट्र बाधक होइन सेवक हो भनेर उत्तर कामले दिनुहोला। जागिरे मानसिकताका साथ काम नगर्नुहोला। यात्रा लामो छ। कामप्रतिको समर्पण भाव होस्। ६० वर्षको उमेरसम्म जागिर खाँदासम्म पढ्ने, पढाउने र ज्ञान आर्जन गर्नसक्ने कुरा गर्न सक्नुहुन्छ। तर, निष्ठामा रहनुपर्छ।
आज जति खुसी र उत्साही हुनुहुन्छ, त्यत्तिकै उत्साह रिटायर हुँदासम्म राख्नुहोला। यसले सकारात्मक ऊर्जा दिने छ। सानोसानो काम गरेर पनि निजामती सेवाले राम्रो गरिरहेको छ भन्ने अनुभूति दिनसक्नुपर्छ। किनकि अहिले हामीले अपेक्षित रूपमा त्यो अनुभूति दिन सकेका छैनौं। अझैँ त्यो कुरालाई कसरी परिमार्जन गर्नुहोला भन्ने कुरामा तपाईंहरूको निरन्तरता होस्।
(शुक्रबार चैतन्यले अल्फा हाउसमा लोकसेवाबाट हालसालै शाखा अधिकृतमा नाम निकाल्न सफल उम्मेदवारहरूका लागि आयोजना गरेको सम्मान कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले राखेको धारणाको सम्पादित अंश)