शाखा अधिकृतका रूपमा उत्तीर्ण हुनु सामान्य सफलता र उचाइ होइन। प्रतिस्पर्धाबाट असफल भएका साथीहरूको नजरबाट हेर्दा यो सफलता चानचुने विषय होइन। हिजो तपाईं प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो। आज तपाईं उत्तर दिने ठाउँमा हुनुहुन्छ। अबको सार्वजनिक प्रशासन तपाईंहरूको वरिपरि घुम्छ। तपाईंले प्रवाह गर्ने सेवाबाट नागरिकले सरकारको गुणात्मकताको मापन गर्छन्। तपाईंले गर्ने व्यवहारबाट सार्वजनिक प्रशासन रुखोसुको केछ भन्ने कुरा झल्किन्छ।
जुनसुकै क्षेत्रमा जाँदा पनि गालीको वर्षा हुन्छ। हो हामी गाली खान लायक छौं, त्यसैले गाली खान्छौं। अब हामीले मिलेर सुधार गर्नुपर्छ। १०० जनाले गाली गरेको ठाउँमा ९० मा, ८० मा हुँदै ५० र ४० मा झारेर शून्यमा पुर्याऔं। एकैदिन सम्भव हुँदैन। एकैदिन ताली पाउन सकिँदैन, एकैदिन वाहवाही पाउन सकिँदैन। निरन्तरको प्रयासले सम्भव छ। अब तपाईंहरू पनि गाली खाने ठाउँमा आउनु भएको छ। नागरिकका अपेक्षा अथाह छन्। ती समस्यालाई हामीले पूर्णरुपमा सम्बोधन गर्न नसकौंला तर क्रमशः प्रयास गर्नुपर्छ। कसैले गाली गर्यो भनेर निराश हुनु पर्दैन। क्रमशः सुधार गर्दैजानुपर्छ।
सय प्रतिक्रिया आउँदा दुई ओटा सकारात्मक प्रतिक्रिया आउनसक्छन्। तिनलाई हामीले चारमा पुर्याउनुपर्छ। र, बढाउँदै लैजानुपर्छ। विभिन्न क्षेत्रबाट थुप्रै दु:ख र संघर्ष गरेर तपाईंहरूले सफलता हासिल गर्नुभएको छ। अब तपाईंतर्फ धेरैका आँखा हुनेछन्। त्यसैले नेपाल नै सही गन्तव्य हो। विदेश जाने होइन भन्ने वातावरण तपाईंहामीले सिर्जना गर्नुपर्छ। तपाईंहामी क्रियाशील भयौं भने त्यो सम्भव छ।
अब जागिरे जीवनमा तपाईंहरूलाई केही उत्साह र केही निराशा आउनेछन्। त्यसका लागि तपाईंहरू आजैबाट तयार हुनुहोला। सरुवा, बढुवा वा पदस्थापनका लागि हात जोड्दै नेताहरूको दैलोमा नपुग्नुहोला। नेपालभित्रै हो मरिँदैन। जहाँ गएर पनि काम गर्ने हो। आत्तिनु पर्दैन। त्यहाँ काम नभएको भए त्यो दरबन्दी नै सिर्जना हुने थिएन। त्यसैले पदस्थापनका लागि अनावश्यक ऊर्जा खर्च नगर्नुहोला। प्रत्येक दिन नयाँ ढंगका साथ काम गर्ने सोचले अगाडि बढ्नुहोला। आफैलाई मैमत्त ठानेर अघि नबढ्नुहोला। अब तपाईंले जिम्मेवारीपूर्वक पाइला चाल्नुपर्छ, जिम्मेवारीपूर्वक अघि बढ्नुहोला। प्रत्येक दिन कामले आफूलाई खार्दै अगाडि बढ्नुहोला।
समाजमा ज्ञानी मानिस नै पूजनीय हुन्छ। गणेशप्रसाद जोशी सरले सुरुमा चैतन्य चिन्तनमा जोडिऊ भन्दा मैले भइहाल्यो भनेको थिए। तर, आज तपाईंहरूले उक्त कार्यक्रमबाट लिनु भएको लाभबारे आज बताउँदा यसको कभ्रेजले मलाई खुसी तुल्याएको छ। चैतन्यले हरेक शनिबार सिकाइको बार। म पनि केही शनिबारीय शृङ्खलामा जोडिए। दूरदराजमा यसले यति प्रभाव पारेको होला भन्ने ठानेको थिइन। तर, आज तपाईंहरूका कुरा सुन्दा मलाई निकै खुसी लागेको छ। त्यसैले चैतन्यले नाफाको लागिमात्र काम गरेको छैन। यसले सेवाको लागि पनि काम गरेको छ।
यस संस्थासँग जोडिएर आज तपाईंहरूसँग यसरी ज्ञान बाँड्न पाउँदा गौरवान्वित ठानेको छु। यसको नाम नै निकै पवित्र छ। पूर्वीय दर्शन र सभ्यता बोकेको चैतन्य। यही चैतन्य चिन्तनको वरिपरि रहेर तपाईंहरू पनि लाभान्वित हुनुभएको छ। आगामी दिन यहाँहरूको यात्रा सुखद रहोस्। त्यसका लागि यहाँहरूले खार्दै लैजानुहोला। दोस्रो कुरा कहिले कुनै चिजको लागि हात जोड्ने परिपाटीको अन्त्य गर्नुहोला। गाली खान तयार हुनुहोला। अबका तालिमे जीवन सफल हुन्। तपाईंहरू आफूलाई कसैसँग नदाँज्नुहोला। तपाईं दुनियाँकै विशिष्ट व्यक्ति हो। तपाईं बराबरको व्यक्ति दुनियाँमा सिर्जना भएकै छैन। त्यसैले आफूलाई विशिष्ट व्यक्तिका रूपमा अगाडि बढाउनुहोला।
(शुक्रबार चैतन्यले अल्फा हाउसमा लोकसेवाबाट हालसालै शाखा अधिकृतमा नाम निकाल्न सफल उम्मेदवारहरूका लागि आयोजना गरेको सम्मान कार्यक्रममा नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले राखेको धारणाको सम्पादित अंश)