काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने अन्तिम दिन रहेको छ ।
गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका उनले २७ माघ अघि नै विश्वासको मत लिइसक्नु पर्ने भएकाले आज अन्तिम दिन हो ।
संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिइसक्नु पर्ने व्यवस्था छ ।
विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दैछ । यसअघि बुधबारका लागि तय भएको बैठक विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि स्थगित गरिएको थियो ।
मुख्यमन्त्री रावलले विश्वासको मत पाउने नपाउने नागरिक उम्मुक्ति पार्टीमा भर परेको छ । आफ्ना माग सरकारले सम्बोधन नगरेको भन्दै नागरिक उन्मुक्तिले विश्वासको मत दिने बारे निर्णय गरेकाले रावलमाथि संकट आएको छ ।
नागरिक उन्मुक्तिले थुनामा रहेका पार्टीका संरक्षक रेशम चौधरीसहित ६ जना नेताको रिहालाई मुख्य सर्त बनाएको छ । मुख्यमन्त्री नियुक्तिका बेला समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको अवस्थामा रावल पदमुक्त हुनेछन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।
नागरिक उन्मुक्तिका ७ सांसद अहिले केन्द्रीय राजधानी काठमाडौंमा छन् । उनीहरु प्रदेशमा नर्फिएका कारण बुधबारको बैठक स्थगित भएको थियो । उनीहरु प्रदेश फर्किने बारे अझै निश्चित नभएको बताइएको छ र अहिलेसम्म विश्वासको मत दिने बातावरण नबनेको उनीहरुले बताएका छन् ।