काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएको बताएका छन्। आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारी बिदा धेरै भएकाले त्यसमा पुनर्विचार गर्नुपर्ने बताए।
बिदा धेरै हुँदा जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको उनको भनाइ थियो। ‘सार्वजनिक बिदाका विषयमा पुनर्विचार आवश्यक छ। यस विषयमा मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए।
बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।