६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चियो - Chaitanya News
  • 2026-05-01
  • 01:05:20
  • बिहिबार,बैशाख १७, २०८३
  • ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चियो

    ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चियो

    काठमाडौँ– चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएर ८० अर्ब ८१ करोडमा सिमित बनेको हो। अघिल्लो वर्षको सोही अवधिमा नेपालको निर्यात ९५.५ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५।२ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले बढेको छ।

    वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ। यस्तै, यस अवधिमा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ।

    वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ।

    निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। आर्थिक वर्ष २०७९–८० को छ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई ७ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ।

    वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब १० अर्ब ९१ करोड बराबरको भएको थियो।