काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताएका छन्।
उनले वर्तमान सरकारलाई सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको बताए।
मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिएपनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताए।
क्षेत्रीले सरकारले तिब्ररुपमा काम गर्नसके ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने आँकलन गरे। उनले पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचक रेमिट्यान्स बढ्ने, व्यापार घाटा कम हुने र विदेशी मुद्रा सञ्चितीमा सुधार भएको बताए।
उनले भने,‘वर्तमान सरकार गठन गरेपश्चात एकताबद्ध भएर प्रधानमन्त्रीलाई साथ दिए। अब यो अपूर्व मौकालाई प्रधानमन्त्रीले पनि चुकाउन दिनुहुँदैन उपयोग गर्नुपर्छ। अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो,भत्किहाल्यो भन्ने अवस्था थियो। तर अर्थतन्त्रमा केही सकारात्मक पक्षहरु देखिएका छन्। रेमिट्यान्स बढेको छ। व्यापार घाटा केही घटेको छ। विदेशी मुद्रा सञ्चिती पनि बढेको छ। त्यसैले सरकारले आयातमा प्रतिवन्ध लगाएका वस्तुहरु खोलेको छ। घाटामा गएको शोधनान्तर पनि ३६ अर्ब नाफामा गएको छ। यही अवधिमा अघिल्लो वर्ष चालु खाता २ खर्ब २२ अर्ब घाटामा रहेछ। अहिले सुधार भइरहेकाले सरकारले दिलो ज्यान दिएर भ्रष्टाचार न्युनिकरणका निम्ति शुन्य सहनशिलतामा सरकारले अगाडि बढ्नुपर्छ। सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च कसरी बढाउने भनेर टाक्स फोर्स नै बनाउनुपर्छ।
अनुगमन गर्ने निकायले पनि रफ्तारमा काम गर्ने हो भने विश्व बैंकले ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। सरकारले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ। सरकारका निकायले तिब्रताका साथ काम गरे ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्छ।’
पूर्वगभर्नर क्षेत्रीले सरकारले भ्रष्टाचार न्युनिकरणका निम्ति शुन्य सहनसिलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताए। उनले सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च बढाउने गरी टाक्स फोर्स नै बनाएर सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे।