काठमाण्डौ– हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ।
आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ। बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको शेयर साढे आठ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ।