सरुवाअनुसार अर्थमा ल्याइएका सहसचिवहरूको कार्य विभाजन तोकिएको - Chaitanya News
  • 2026-05-01
  • 00:49:09
  • बिहिबार,बैशाख १७, २०८३
  • सरुवाअनुसार अर्थमा ल्याइएका सहसचिवहरूको कार्य विभाजन तोकिएको

    सरुवाअनुसार अर्थमा ल्याइएका सहसचिवहरूको कार्य विभाजन तोकिएको

    काठमाडौं– सात दलीय गठबन्धनबाट एमाले भागमा परेको अर्थ मन्त्रालयमा कर्मचारी सरुवा क्रम जारी छ। अर्थ मन्त्रालयको बागडोर सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जिम्मेवारी लिएको साता दिन नबित्दै २१ पुसमा तोयम रायालाई अर्थसचिव बनाएका थिए भने रामप्रसाद घिमिरेलाई राजस्व सचिवका रुपमा भित्र्याएका थिए।

    राय वाणिज्य मन्त्रालयमा थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए। पौडेलले अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले अर्थसचिव बनाएका कृष्णहरि पुष्करलाई सरुवा गरेर आफू अनुकूलका रायालाई अर्थ मन्त्रालयको सचिव बनाएका थिए।

    जनार्दन अर्थमन्त्री भएका बेला राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका रामेश्वर दंगाललाई हटाएर घिमिरेलाई मन्त्रालयमा ल्याएका थिए।

    अर्थमन्त्री पौडेलेकै जोडबलमा गत सोमबारको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेको थियो। सरुवाअनुसार अर्थमा ल्याइएका सहसचिवहरूको कार्य विभाजन तोकिएको छ।

    मन्त्री पौडेलले श्रीकृष्ण नेपाललाई आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनाएका छन्। धनीराम शर्मा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन्। झक्कप्रसाद आचार्यलाई वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

    मन्त्रालयका अनुसार लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने ईश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन्।

    मन्त्रालयका अनुसार सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख र कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारीमा खटाइएको छ।

    यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा जिम्मा सेवन्तक पोखरेलले पाएका छन् भने रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखाको प्रमुख बनेका छन्।