चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-27
  • 11:14:43
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

बाढीपहिरोको क्षति र ऊर्जा–सिँचाइ आयोजनाको अवस्था बुझ्न मन्त्री श्रेष्ठ मैदानमा

काठमाडौँ — बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र ऊर्जा तथा सिँचाइ आयोजनामा देखिएका समस्या पहिचान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ गण्डकी प्रदेशको स्थलगत अनुगमनमा जाने भएका छन्। मन्त्री श्रेष्ठले आज गण्डकी प्रदेशका कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लाको भ्रमण गरी बाढीपहिरोले पुर्‍याएको क्षति तथा ऊर्जा र सिँचाइ क्षेत्रका आयोजनाको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। भ्रमणका क्रममा विशेषगरी पहिरो प्रभावित क्षेत्रको अवस्था, नदी तथा खोलामा तटबन्ध निर्माणको आवश्यकता, सिँचाइ आयोजनामा देखिएका समस्या र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणबारे स्थलगत निरीक्षण गरिनेछ। कास्कीमा पहिरोबाट प्रभावित क्षेत्रको क्षति र जोखिमको अवस्था बुझ्ने कार्यक्रम छ। त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजना तथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण र समीक्षा गरिने जनाइएको छ। बाढीपहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकको समस्या पहिचान र आगामी दिनमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरण भ्रमणका प्रमुख उद्देश्य रहेका छन्। स्थलगत अनुगमनबाट प्राप्त विवरणका आधारमा तत्काल सुधार गर्नुपर्ने विषय र दीर्घकालीन पूर्वाधार निर्माणका योजनाबारे सम्बन्धित निकायसँग समन्वय गरिने बताइएको छ। विशेषगरी नदी तथा खोलाको कटान नियन्त्रण, तटबन्ध निर्माण, सिँचाइ प्रणालीको सुधार र ऊर्जा आयोजनाको प्रभावकारी सञ्चालनमा देखिएका समस्या समाधानका उपाय पहिचान गर्ने सरकारको तयारी छ। स्थानीयस्तरमै पुगेर नागरिकका समस्या सुन्ने र सम्बन्धित निकायलाई समाधानका लागि सक्रिय बनाउने उद्देश्यसहित मन्त्री श्रेष्ठले यो भ्रमण गर्न लागेका हुन्। भ्रमणबाट प्राप्त सुझाव र स्थलगत अवस्थाका आधारमा पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।

News by बाढीपहिरोको क्षति र ऊर्जा–सिँचाइ आयोजनाको अवस्था बुझ्न मन्त्री श्रेष्ठ मैदानमा :