चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 67 of 1108
  • 2026-10-08
  • 11:37:55
  • बिहिबार,आश्विन २२, २०८३

About Author

सञ्चारविहीन बनेका जलविद्युत आयोजनामा उद्धार संकट, सयौँ कर्मचारी र कामदारको अवस्था अझै अज्ञात

काठमाडौँ– रसुवामा आएको बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदारको उद्धार चुनौतीपूर्ण बनेको छ। सञ्चार सम्पर्क विच्छेद, सडक तथा आयोजनास्थलसम्मको पहुँच अवरुद्ध र हेलिकप्टरको सीमित उपलब्धताका कारण उनीहरूको अवस्थाबारे यकिन जानकारी लिनसमेत कठिनाइ भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको जनाइएको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ कर्मचारी पनि सम्पर्कमा छैनन्, जसमा ८ जना कोरियन नागरिक छन्। यस्तै, आयोजनासँग सम्बन्धित जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ कर्मचारीसमेत बेपत्ता भएका छन्। आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना तथा पावर हाउस क्षेत्रमा २०० भन्दा बढी कर्मचारी तथा कामदार उद्धारको प्रतीक्षामा रहेको इप्पानले जनाएको छ। लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ कर्मचारीसहित ६० जना बुधवारदेखि सुरुङभित्र थुनिएका छन्। सुरुङमा रहेका थप ३५ जना कामदारको अवस्थासमेत स्पष्ट हुन सकेको छैन। उद्धारका लागि विकासकर्ता पक्षले पहल गरिरहेको भए पनि हेलिकप्टर उपलब्ध हुन नसक्दा समस्या थपिएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ कर्मचारी पनि सम्पर्कविहीन छन्। टिमुरे क्षेत्रमा रहेका तीन कामदार भने अग्लो स्थानमा पुगेर सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। तर, उक्त क्षेत्रमा अझै सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन। मैलुङ खोला जलविद्युत आयोजनाको पावर हाउसमा कार्यरत ८ कर्मचारी बुधवारदेखि सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकप्टरबाट निरीक्षण गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ। त्यसैगरी, १२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा सिभिल ठेकेदारका रूपमा कार्यरत सिनो हाइड्रोका दुई कामदार बेपत्ता भएका छन्। सोही कम्पनीका तीन चिनियाँ र दुई नेपाली गरी पाँच कर्मचारी भने नजिकैको गाउँमा आश्रय लिएर बसेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको जनाइएको छ। बाढीपछि जलविद्युत आयोजनाका कर्मचारी तथा कामदारको उद्धारका लागि सञ्चार सम्पर्क पुनःस्थापना र घटनास्थलसम्म तत्काल पहुँच पुर्‍याउनु मुख्य चुनौती बनेको छ। विकट भूगोल, अवरुद्ध मार्ग तथा सीमित हवाई उद्धार क्षमताका कारण सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार थप जटिल बनेको इप्पानले जनाएको छ।

News by सञ्चारविहीन बनेका जलविद्युत आयोजनामा उद्धार संकट, सयौँ कर्मचारी र कामदारको अवस्था अझै अज्ञात :