चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 44 of 1101
  • 2026-10-05
  • 10:47:35
  • सोमबार,आश्विन १९, २०८३

About Author

त्रिशूली–३ बी आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँ : नेपाली सेना

काठमाडौँ– रसुवामा आएको बाढीका कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। चुनौतीका बाबजुद उद्धारलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले त्रिशूली–३ बी आयोजनामा ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिए। बाढीले ल्याएको लेदो, दलदल र हिलोका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको उनले बताए। आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ। बाढीले बनाएको दलदलका कारण उद्धार उपकरण आयोजनास्थलसम्म पुर्‍याउनसमेत समस्या भएको थापाले बताए। उद्धारका लागि एउटा सानो एक्स्काभेटर आयोजनास्थलमा पुर्‍याइएको छ भने केही स्थानमा उद्धारकर्मीले साबेलको प्रयोग गरेर हिलो तथा माटो हटाइरहेका छन्। त्रिशूली–३ ए को सुरुङबाट त्रिशूली–३ बी को सुरुङतर्फ जान सकिने मार्ग पहिचान भएकाले सोही मार्ग हुँदै एक्स्काभेटर लैजाने प्रयास भइरहेको उनले जानकारी दिए। “हाम्रो फोकस अहिले त्रिशूली–३ बी आयोजनामा रहेको छ। त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ। यो रनिङ प्रोजेक्ट थिएन, तर अफिस र आवासमा मानिसहरू थिए भन्ने आएको छ। टनेलभित्र मानिस छैनन् भन्ने देखिएको छ। उद्धारका लागि निकै चुनौती व्यहोर्नुपरेको छ,” उनले भने। उनका अनुसार आयोजनानजिकै सुकुम्बासी बस्तीसमेत रहेकाले बाढीले जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै उक्त बस्तीमा पनि ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ। ११ जलविद्युत् आयोजनामा क्षति: थापाका अनुसार रसुवा बाढीले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका ११ वटा जलविद्युत् आयोजनाका कार्यालय, आवास, सुरुङ, हेडवर्क, टेलवर्कलगायत संरचनामा क्षति पुर्‍याएको छ। आयोजनाभित्र फसेकाहरूको नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार भइरहेको उनले जानकारी दिए। उनका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै खोज तथा उद्धार जारी छ। उद्धार टोली सुरुङभित्र करिब २७५ मिटर प्रवेश गरे पनि अहिलेसम्म केही फेला पार्न सकेको छैन। लाङटाङ जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि जारी उद्धारका क्रममा एउटा शव फेला परेको छ भने खोजी जारी छ। चिलिमे जलविद्युत् आयोजनामा भारतीय विशेषज्ञ टोलीको समेत सहयोगमा भदौ १४ गतेदेखि उद्धार भइरहेको छ। उद्धार टोली सुरुङभित्र करिब ११० मिटर पुगेको छ। चिलिमेको सुरुङ उकालो भएकाले हिलो कम रहेको र अब उद्धारको गति बढ्ने अपेक्षा गरिएको थापाले बताए। त्यस्तै, माथिल्लो त्रिशूली–१ मा कोरियाली विशेषज्ञसहितको टोलीले उद्धार गरिरहेको छ भने त्रिशूली–३ ए मा चिनियाँ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार भइरहेको उनले जानकारी दिए। हिमताल र पहिरोको जोखिम कायमै: चिनियाँ टोलीले माथिल्लो क्षेत्रमा रहेका अवस्थाबारे सूचना सम्प्रेषण गरिरहेको पनि थापाले बताए। लाङटाङ क्षेत्रमा पहिरोले बनेका बाँध तथा हिमतालहरू हाल सामान्य अवस्थामा रहेको जानकारी चिनियाँ टोलीले दिएको छ। यद्यपि हिमपहिरोका कारण नयाँ बाँध वा ताल बन्ने जोखिम भने कायमै रहेको उनले बताए। चिनियाँ पक्षबाट प्राप्त रिपोर्ट तथा फुटेजमा विभिन्न स्थानमा चिरा देखिएकाले जोखिमलाई ध्यानमा राखेर बाढी प्रभावित क्षेत्रमा संयुक्त सुरक्षा टोली परिचालन गरिएको उनको भनाइ छ। त्रिशूलीमा उपरथीको कमाण्डमा फिल्ड हेडक्वार्टर: बाढीपछि नेपाली सेनाले त्रिशूली क्षेत्रमा उपरथीको कमाण्डमा प्राक्टिकल हेडक्वार्टर स्थापना गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीसमेत फिल्डमा परिचालन भएका छन्। धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वार्ड हेडक्वार्टर स्थापना गरिएको थापाले जानकारी दिए। सुरक्षा निकायले जलविद्युत् आयोजनाका अतिरिक्त नदी किनारका बस्तीमा समेत खोज तथा उद्धारलाई प्राथमिकता दिएको छ। सेनाका इन्जिनियरिङ टोलीले पुल निर्माण, सडक खुलाउने, हवाई तथा ड्रोन रेकी र सडक विभागलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेको उनले बताए।

News by त्रिशूली–३ बी आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँ : नेपाली सेना :