सङ्गठन सुदृढीकरणदेखि कार्यविभाजनसम्म, नेकपाले तय गर्‍यो छलफलका ७ एजेन्डा - Chaitanya News
  • 2026-10-09
  • 14:57:03
  • शुक्रबार,आश्विन २३, २०८३
  • सङ्गठन सुदृढीकरणदेखि कार्यविभाजनसम्म, नेकपाले तय गर्‍यो छलफलका ७ एजेन्डा

    सङ्गठन सुदृढीकरणदेखि कार्यविभाजनसम्म, नेकपाले तय गर्‍यो छलफलका ७ एजेन्डा

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सङ्गठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशालाई केन्द्रमा राखेर छलफल अघि बढाएको छ। शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कार्य संयोजन समितिको बैठकले छलफलका लागि सातवटा एजेन्डा पारित गरेको हो।

    पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति र त्यसमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भइरहेको छ। बैठकले राजनीतिक अवस्थाको समीक्षा गर्नुका साथै सङ्गठन सुदृढीकरण, महाधिवेशन तथा अधिवेशनको तयारी र पार्टीका विभिन्न संरचनालाई व्यवस्थित बनाउने विषयलाई एजेन्डामा समेटेको छ।

    बैठकमा पारित एजेन्डामा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान, महाधिवेशन र अधिवेशनहरू, केन्द्रीय कार्यसमिति गठन तथा बैठक, केन्द्रीय सचिवालय गठन तथा बैठक, कार्यविभाजन र विविध विषय रहेका छन्।

    सात एजेन्डामध्ये केन्द्रीय कार्यसमिति तथा सचिवालय गठन र कार्यविभाजनसम्बन्धी विषयले पार्टीको आन्तरिक संरचना र जिम्मेवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेको देखिन्छ। त्यस्तै, जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान र महाधिवेशन तथा अधिवेशनसम्बन्धी विषयले पार्टीको आगामी सङ्गठनात्मक गतिविधिको दिशा तय गर्नेछ।

    बैठकले यी विषयमा गर्ने छलफल र लिने निर्णयले नेकपाको आगामी राजनीतिक तथा सङ्गठनात्मक गतिविधिलाई दिशा दिने अपेक्षा गरिएको छ।