भोजपुर — कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा समस्यामा पर्दै आएका भोजपुर र खोटाङका किसानलाई लक्षित गरी भोजपुरको पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। करिब ११ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको केन्द्रका लागि टेम्केमैयुङ गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा निर्माण हुने उक्त केन्द्रले दुई जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको सङ्कलन, भण्डारण, संरक्षण र बजारीकरणलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ। भारत सरकारको सहयोगमा निर्माण हुने केन्द्रको कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुनेछ। बाँकी पाँच प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ। केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलन स्थल तथा वर्गीकरण र प्राथमिक प्रशोधनका सुविधा रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीय उत्पादनलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्नेछ। हाल उचित भण्डारण र बजारको अभावमा किसानले उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने तथा लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या छ। नयाँ केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादनको उचित मूल्य पाउने र बजारसम्म पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उत्पादन एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको बताए। उनका अनुसार कृषि उपजको व्यवस्थित बजारीकरणसँगै केन्द्रले मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ। कृषि उत्पादनको बिक्री र भण्डारण सहज भएपछि किसानलाई उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन प्रोत्साहन मिल्ने उनको भनाइ छ। गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसमेत लिएको छ। गाउँपालिका उपाध्यक्ष रमादेवी राईले केन्द्र निर्माणपछि कृषि उत्पादनको बजारीकरण सहज हुनुका साथै पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार हुने बताइन्। त्यस्तै, वडा नं ९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले एउटै संरचनाबाट कृषि उपज सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था हुने भएकाले टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान प्रत्यक्ष लाभान्वित हुने बताए।


