चितवन– नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको घोषणाले विभिन्न प्रदेशका क्रिकेट क्लबमा उत्साह थपिएको छ । आफ्नै घरेलु मैदानमा खेल्ने अवसरसँगै क्रिकेट पूर्वाधार विकास र स्थानीय खेल प्रतिभाको प्रवर्द्धन हुने अपेक्षाले क्लब सञ्चालकहरू उत्साहित भएका हुन् । एनपीएलको तेस्रो संस्करणको फाइनलपछि प्रधानमन्त्री शाहले आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए । सरकारले आवश्यक पूर्वाधार निर्माण गरी छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारेपछि क्लब सञ्चालकले यसलाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको साथमा खेल्ने कर्णालीवासीको वर्षौँदेखिको सपना पूरा हुने दिशामा अघि बढेको बताएका छन् । उनका अनुसार यो पहल कर्णालीको खेलकुद विकासमा मात्र सीमित नरही स्थानीय प्रतिभाको पहिचान, खेल पूर्वाधार विस्तार र खेल पर्यटन प्रवर्द्धनका लागि समेत महत्वपूर्ण बन्नेछ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणसँगै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट संघलगायत सरोकारवाला निकायसँग सहकार्य गर्न क्लब प्रतिबद्ध रहेको उनले बताए । त्यस्तै, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले पनि प्रधानमन्त्रीको घोषणाको स्वागत गरेका छन् । जिल्लामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले छैटौँ संस्करणदेखि आफ्नै मैदानमा खेल्ने अवसरले चितवनको क्रिकेट विकासमा नयाँ सम्भावना खोल्ने बताए । न्यौपानेका अनुसार घरेलु मैदानमा प्रतियोगिता सञ्चालन हुँदा समर्थकले आफ्नै सहरमा बसेर टिमलाई समर्थन गर्न पाउनेछन् । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै खेल पूर्वाधारको विकास र युवा प्रतिभालाई क्रिकेटप्रति आकर्षित गर्न सहयोग पुग्नेछ । उनले भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध क्रिकेट रंगशालामा छिट्टै फ्लडलाइट जडान हुने विश्वास व्यक्त गर्दै यस अभियानलाई सफल बनाउन नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, नेपाल क्रिकेट संघ (क्यान) र अन्य सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । प्रधानमन्त्री शाहले आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदानसमेत प्रस्ताव गरेका छन् । जसअनुसार चितवन राइनोजले गौतमबुद्ध क्रिकेट रंगशाला, कर्णाली एक्सले सुर्खेत क्रिकेट रंगशाला, विराटनगर किङ्सले वैजनाथपुर क्रिकेट रंगशाला र लुम्बिनी लायन्सले सिद्धार्थ क्रिकेट रंगशालामा खेल्नेछन् । त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट रंगशाला, पोखरा एभेन्चर्सका लागि पोखरा क्रिकेट रंगशाला र जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला तोकिएको छ । होम एन्ड अवे प्रणाली कार्यान्वयनमा आएपछि एनपीएलका खेल काठमाडौंमा मात्र केन्द्रित नरही देशका विभिन्न सहरमा पुग्नेछन् । यसले क्रिकेटको लोकप्रियता विस्तार गर्नुका साथै स्थानीय स्तरमा खेलकुद गतिविधि, पर्यटन, व्यापार तथा रोजगारीका अवसरसमेत बढाउने अपेक्षा गरिएको छ । आठवटै क्लबका लागि फ्लडलाइटसहितका रंगशाला निर्माण गर्ने सरकारी घोषणा कार्यान्वयन भए नेपाली क्रिकेटले प्रतियोगिता सञ्चालनको नयाँ ढाँचा मात्र होइन, देशव्यापी खेल पूर्वाधार विकासको अवसरसमेत पाउने देखिन्छ ।


